नेपाली   |  English

अस्पताल जान बस पर्खेर बसेका वृद्धलाई टिपरले ठक्कर दिई ब्याक गरेर मारेपछि..


A A A

‘ठक्कर दिँदा सामान्य घाइते भएका गुरूङ उठेका थिए। तर, टिपरले फेरि ब्याक गरेर मार्‍यो,

काठमाडौं – बस पर्खेर बसेका इटहरीका एक वृद्धलाई टिपरले किचेर मारेको छ।

कोशी राजमार्ग अन्तर्गत इटहरी १ आँपगाछीमा बस कुरेर सडकमा उभिइरहेका ८२ वर्षीय कर्णबहादुर गुरूङलाई टिपरले किचेर मारेको हो। गुरुङ सोही ठाउँका स्थानीय हुन्।

प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको टिपरले गुरुङलाई ठक्कर दिएर मारेको प्रहरीले जनाएको छ।

सुनसरी प्रहरीका अनुसार आइतबार अपराह्न गुरूङलाई टिपरले सुरूमा ठक्कर दियो। सामान्य ठक्कर दिएपछि उठ्दै गरेका गुरूङलाई ब्याक गरेर किच्यो।

ब्याक गरेर किचेपछि गुरूङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपरमा क्रसरबाट बालुवा लिएर २९ वर्षीय अनिल चौधरी आँपगाछीसम्म गएका थिए।

आँपगाछीमा निमार्णधीन घरमा बालुवा पुर्‍याउन हिँडेका उनी घर पत्ता लगाउन नसेर अन्यौलको अवस्थामा थिए।

घर थाहा नपाएपछि उनले सडकमै टिपर रोकेर राखेका थिए। केहीबेर मोबाइलमा फोन गरे र टिपर ब्याक गर्न थाले।

ब्याक गर्दा वृद्ध गुरूङलाई टिपरको पछाडिको भागले ठक्कर दिएको थियो।

‘ठक्कर दिँदा सामान्य घाइते भएका गुरूङ उठेका थिए। तर, टिपरले फेरि ब्याक गरेर मार्‍यो,’ स्थानीय निश्चल पोखरेलले भने।

गुरूङ बिपी प्रतिष्ठानमा उपचारका लागि भनेर हिँडेका थिए।

सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार टिपरले ब्याक गरि किचेर मारेको भन्दै स्थानीय आन्दोलनमा निस्किएका छन्। सोमबार उनीहरूले राजमार्ग नै अवरुद्ध पारेका थिए।

‘अहिले क्षतिपूर्ति तथा दोषीलाई कारबाहीको सन्दर्भमा पीडित पक्षसँग छलफल भइरहेको छ,’ थापाले भने।

टिपर र चालक प्रहरीको नियन्त्रणमा छन्। चालकको दोष पहिचान गरेर उनीमाथि अधिकतम् कारबाही गर्ने बचन दिएपछि स्थानीय शान्त भएका छन्।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top