नेपाली   |  English

न्यूरोडमा दिउँसै आइएमई पसेर ६ लाख लुटपाट


A A A

कर्मचारी दीपक मल्ललाई हातमा बाँधेर खुकुरी देखाएर लुटे

काठमाडौं – राजधानीमा बुधबार दिउँसै आइएमईमा प्रवेश गरेर लुटेराहरूले ६ लाख रुपैयाँ लुटपाट गरेका छन्।

शान्ति सुरक्षाको हिसाबले संवेदनशील मानिने काठमाडौं– २२ खिचापोखरीस्थित आइएमईमा पसेर लुटपाट भएको हो।

बुधबार ३ः५६ बजे राज भण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एन्ड ट्राभल्स आइएमईमा अपरिचित व्यक्तिहरू प्रवेश गरेका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूले कर्मचारी दीपक मल्ललाई हातमा बाँधेर खुकुरी देखाएर लुटेका हुन्।

परिसर प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार लुटपाटमा संलग्न चार व्यक्तिलाई पक्राउ पनि गरिएको छ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर घर भई पुरानो बानेश्वरको होस्टलमा बस्ने १७ वर्षीय दीपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भई सोही होस्टलमा बस्ने २१ वर्षीय तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका २० वर्षीय उमेश केसी छन्।

प्रहरीका अनुसार लुटपाटको घटना भने झन्डै एक घन्टापछि मात्रै प्रहरीलाई थाहा भएको थियो। खिचापोखरी बढी भिडभाड हुने क्षेत्र भए पनि प्रहरीलाई अबेरमात्र खबर भएको थियो। सोही आइएमईबाट फोन गएपछि प्रहरी पुगेको थियो।

परिसर र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएका प्रहरीले केही रकम बरामद गरेको छ।

बिहीबार बिहान काठमाडौं १६ बालाजु बाइपासस्थित मञ्जु पुटुवारलाई राख्न दिइएको ७५ हजार र लुटपाटमा संलग्नबाट ५९ हजार ७ सय रुपैयाँ बरामद गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताए।

लुटेको केही रकम कपडा, जुत्ता, झोला खरिद र रेष्टुराँमा पसेर सकेको संलग्नले बताएका छन्।

उनीहरूलाई प्रहरीले लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूसँगै लागुऔषध सेवन गरिरहेका रोल्पा लिवाङ घर भई हाल धापासी बस्ने २२ वर्षीय प्रशन्न हमाल ठकुरी, पुरानो बानेश्वरको एक होस्टलमा बस्ने २२ वर्षीय सफल आचार्य र रुपन्देही घर भई सोही होस्टलमा बस्ने २४ वर्षीय मिलन ढकाल पक्राउ परेको प्रहरीले जनाएको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top