नेपाली   |  English

नौ दिनपछि नेपाल फर्किने तयारीमा थिए कोरियामा मृत्यु भएका गगन रावल


A A A

गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए

सउल । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको निधन भएको छ ।

दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो चरणको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए । एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए । उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बेहोस अवस्थामा थिए ।

तत्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । घटनाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र शवलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको साहित्यकार भोजराज घोडासैनीले बताए ।

घटनाको प्रकृति हेर्दा हृदयाघात भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताए । गगन सुर्खेत समाज दक्षिण कोरियाका पूर्वसदस्यसमेत रहेका थिए । अविवाहित गगनको परिवारमा बाबा आमा र एक बहिनी छन् । रासस


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top