नेपाली   |  English

भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकारे अभियुक्त किशोरले


A A A

बेहोस अवस्थामा बलात्कार गरेको र पछि घाँटी निमोठेर हत्या गरेको

बैतडी – बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त किशोरले बयान फेरेका छन्।

बुधबार सरकारी वकिल कार्यालयमा लिइएको बयानमा अभियुक्त किशोरले बलात्कारपछि हत्या गरेको स्वीकारेका उनका बुवाले जानकारी दिए। बुधबार सार्वजनिक गरिएका किशोरले यसअघि आफूले हत्या मात्रै गरेको बताउँदै आएका थिए। तर आज किशोरका बुबा, प्रहरी अनुसन्धान अधिकृत, सरकारी वकिलसहित रहेको टोलीले संयुक्तरुपमा लिएको बयानमा बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन्।

यस्तै आजै बयानका क्रममा किशोरले घटनास्थलमै भागरथीको घडी पनि रहेका बताएका थिए। किशोरले भनेकै आधारमा प्रहरीले घटनास्थलमा खोज्दै जाँदा घडी पनि फेला पारेको थियो। किशोर बुबाले भने, ‘पुरानो घरायसी रिसिइबी र विद्यालयको हाफ टाइममा जिस्क्याएको भनेर भनेको छ।’

लवलेक जङ्गलमा पुगेपछि पहिला सडकबाट धकेलेर भीरमा लडाएको त्यसपछि बेहोस अवस्थामा बलात्कार गरेको र पछि घाँटी निमोठेर हत्या गरेकोसमेत किशोरले बयान दिएका छन्। गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन्।

त्यसपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको थियो। भागरथीको शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको भन्ने उल्लेख गरिएको छ। बुधबार नै मृतक भागरथीका दाजु शङ्कर भट्टले अभियुक्त किशोरविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न बैतडी प्रहरीलाई अनुमति दिइएको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top