नेपाली   |  English

बैठक बोलाउन माग गर्दै वाग्मती प्रदेशसभामा प्रचण्ड–नेपाल पक्षको नाराबाजी


A A A

दिउँसो २ बजेका लागि बोलाइएको वाग्मती प्रदेशसभाको बैठक ‘विशेष कारण’ ले स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

हेटौंडा — वाग्मती प्रदेशसभाको बैठक बोलाउन माग गर्दै पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपा पक्षका सांसदहरुले अहिले प्रदेशसभा सचिवालयमा नाराबाजी गरिरहेका छन् ।

सरकार अल्पमतमा परिसकेकाले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव अगाडि बढाउन माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

सोमबार दिउँसो २ बजेका लागि बोलाइएको वाग्मती प्रदेशसभाको बैठक ‘विशेष कारण’ ले स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दलको अर्को समूहले प्रदेशसभामा दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने गरी बैठक बोलाइएको भए पनि आइतबार राति स्थगित भएको सूचना प्रदेशसभामा टाँसिएको थियो ।

सरकार अल्पमतमा परेकाले अविश्वासको प्रस्ताव अघि बढाउनुपर्ने नेकपा दाहाल–नेपाल पक्षको संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले बताइन् । मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् ।

पुस १० गते प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव माघ ९ गतेको बैठकमा टेबुल गरिएको थियो । अविश्वास प्रस्तावका विषयमा मतविभाजनका लागि कार्यविधि निर्माण गर्न कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले प्रतिवेदन नबुझाएका कारण बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top