नेपाली   |  English

नयाँ सहमतिले होटल क्षेत्रका श्रमिकको रोजगारी र सामाजिक सुरक्षा सुनिश्चित भएको छ : अध्यक्ष पाण्डे


A A A

होटल सञ्चालनका लागि चक्रीय प्रणालीमार्फत आवश्यकताको आधारमा आलोपालो गरी श्रमिक तथा कर्मचारीहरुलाई काममा लगाइनेछ ।

काठमाडौं – पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील ठूला तीन केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपाल (हान) बीच नयाँ सहमति भएको छ ।

कोभिड–१९ को कारण होटल व्यवसाय काबुबाहिर रहेको विषम परिस्थितिमा पनि श्रमिक तथा कर्मचारीको रोजगारी सहजीकरण गर्न होटल संघ नेपाल र मुख्य तीन ट्रेड युनियनका अध्यक्ष, पदाधिकारीहरु बीच माघ १३ गते नयाँ सहमति भएको हो ।

होटल संघ नेपालको तर्फबाट अध्यक्ष सृजना राणासहितका पदाधिकारी र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टूरा मजदुर संघका अध्यक्ष माधव पाण्डे लगायत पर्यटन तथा होटल क्षेत्रमा क्रियाशीलमा तीन ट्रेड युनियनका अध्यक्षहरु र पदाधिकारीहरुबीच भएको नयाँ सहमतिले यस क्षेत्रमा क्रियाशील श्रमिकहरुको रोजगारी सुनिश्चत भएको छ ।

अन्टुफ सचिवालय सदस्यसमेत रहेका अखिल नेपाल होटल क्यासिनो तथा रेष्टूँरा मजदुर संघका केन्द्रीय अध्यक्ष माधव पाण्डेले २०२१ को डिसेम्बर ३१ सम्मका लागि मंगलबार होटल संघ र ट्रेड युनियन बीच भएको १० बुँदे नयाँ सहमतिले होटल क्षेत्रका श्रमिकको रोजगारी र सामाजिक सुरक्षा सुनिश्चित भएको बताउँदै प्रतिष्ठानहरूमा कार्यरत श्रमिक तथा कर्मचारीहरुको पारिश्रमिक भुक्तानी सम्बन्धी समस्या समाधान र व्यवस्थापनमा सहजीकरण भएको समेत बताए ।

सहमतिमा उल्लेखित महत्वपूर्ण बुँदाबारे अध्यक्ष पाण्डेले भने, “पाँचतारे होटल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक ५ हजार रुपैयाँ, चारतारे होटल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक ४ हजार रुपैयाँ, तीनतारे होटल र रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक ३ हजार रुपैयाँ, दुईतारे होटल रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक २५ सय रुपैयाँ, एकतारे होटल रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक २ दुई हजार रुपैयाँ साथै पर्यटकस्तरीय होटल रिर्सोटमा कार्यरत श्रमिक तथा कर्मचारीलाई आपसी समझदारीमा पारिश्रमिक भुक्तानी तय गरिनेछ ।”

यस्तै सहमतिमा “होटल सञ्चालनका लागि चक्रीय प्रणालीमार्फत आवश्यकताको आधारमा आलोपालो गरी श्रमिक तथा कर्मचारीहरुलाई काममा लगाइनेछ । काममा लगाइएका त्यस्ता श्रमिक तथा कर्मचारीहरुलाई निजहरुले खाइपाई आएको पारिश्रमिक उपलब्ध गराइनेछ । काममा नबोलाइएमा यस सहमतिमा तोकिएको रकम उपलब्ध गराउनु पर्नेछ । यस सहमतिको समयावधि भरी तालिम, करार, दैनिक ज्यालादारी र आउटसोर्सिडका श्रमिकहरुलाई काममा लगाइने छैन । तर, वैंकेट सेवाका लागि मात्र आवश्यक पर्ने देखिएमा तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिडका श्रमिकहरुलाई व्यवस्थापनले काममा लगाउन सक्ने” उल्लेख गरिएको छ ।

यसैगरी स्पष्टीकरणमा भनिएको छ, “कुनै श्रमिक तथा कर्मचारीहरुलाई एक महिनामा न्यूनतम १५ दिनभन्दा कम, जति दिन कार्य गर्ने हो त्यति दिनको खाइपाई आएको पारिश्रमिक दिइनेछ र बाँकी दिन यो सहमतिमा तोकिएको(बुँदा नं १) रकमको अनुपातमा हुन आउने थप रकम दिइनेछ भने नियमित १५ दिनभन्दा माथि कार्य गर्न लगाइएमा खाइपाई आएको कार्यदिनको पारिश्रमिक उपलब्ध गराइने छ तर बाँकी (सो महिनाको दिनको सहमति अनुसार(बुंदा नं. १) को थप रकम दिइने छैन) ।”

“सम्पूर्ण होटल प्रतिष्ठानहरु र त्यहाँ कार्यरत श्रमिक तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागिता गराउनु पर्नेछ,” सहमतिको नवौं बुँदामा उल्लेख छ, “यस सहमतिलाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम विभाग, श्रम कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारी गराइनेछ ।”


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top