नेपाली   |  English

हिमाल आरोहीसँग प्रम ओलीको ठट्टा : 'माउन्ट केटु जाने दुस्साहस मैले गरेको भए फर्केर आइन्थ्यो होला'

फाइल तस्बिर

A A A

गच्छेअनुसार सहयोग गछौं

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताएका छन् ।

पाकिस्तानको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।

प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा माउन्ट केटु आरोहणमा आफू पनि जान पाएको भए अझ बढी धुमधाम हुन्थ्यो होला भने । ‘आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो,’ उनले भने, ‘अझ बढी धुमधाम हुन्थ्यो ।’ त्यो दुस्साहस आफूले गरेको भए फर्केर नआउने ठट्टासमेत प्रधानमन्त्रीले गरे ।

माउन्ट केटु आरोहण गरी फर्केको टिमलाई सम्मान गर्दै उनले अब उप्रान्त राज्यले आरोहीलाई अवार्ड दिने घोषणासमेत गरे । आरोहीबाट सबैले प्रेरणा लिन सक्ने भन्दै टिमका सदस्यलाई बधाई ज्ञापन गरे । आरोहणको क्रममा अत्यन्त सावधानी अपनाउन सुझाव दिँदै उनले अनुभवलाई हल्का रुपमा नलिन समेत आग्रह गरे ।

प्रधानमन्त्री ओलिले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट उचित सहयोग गर्ने आश्वासनसमेत दिएका छन् ।

‘यति ठूलो काममा जाँदा सरकारलाई पनि जानकारी गराउनुहोस, धेरै नसकौंला, गच्छेअनुसार सहयोग गर्छ,’ ओलीले भने ।

केटु हिमाल आरोही टिमको नेतृत्व गरेका निर्मल पुर्जाले नेपाल गरिब देश भएको भन्दै राज्यबाट सहयोग नपाएको बताए ।

नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए । हिउँदयाममा विश्वको दोस्रो अग्लो माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु आज काठमाडौं फर्किएका छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top