नेपाली   |  English

खर्च धान्न नसक्ने भएपछि ५५ बर्ष पुरानो पाँचतारे होटेल अन्नपूर्ण बन्द,सोल्टीले ४० प्रतिशत कर्मचारी कटौती गर्ने


A A A

बैंकबाट ऋण लिएर कर्मचारी व्यवस्थापन गर्न लागिएको

कामठमाडौं – दरबारमार्गस्थित नेपालको पहिलो पाँचतारे होटेल ‘डेल अन्नपूर्ण होटेल’ एक वर्ष पूर्ण रूपमा बन्द हुने भएको छ । ५५ वर्ष पुरानो पाँचतारे होटेल कोभिड–१९ का कारणले विदेशी पर्यटक नआएका कारण खर्च धान्न मुस्किल भएको भन्दै बन्द गर्न लागिएको हो । व्यवस्थापनले बन्द गर्ने निर्णय गरेसँगै होटेलका ३ सय ६० भन्दा बढी कर्मचारीलाई बिदा गर्न सुरु गरिएको छ । अन्नपूर्ण होटेल सन् १९६५ स्थापना भएको हो ।

होटेल संघ नेपाल (हान)की अध्यक्ष तथा होटेलकी सञ्चालक सिर्जना राणाले सन् २०२१ भरि पर्यटक नआउने देखिएपछि होटेल बन्द गर्ने निर्णयमा पुगेको बताइन् । ‘आम्दानी प्रायः शून्य छ, खर्च धान्न नसक्ने भएपछि बन्द गर्ने निर्णयमा पुगियो,’ राणाले भनिन्, ‘२०२० को अन्त्यसम्म केही सुरुवात हुने आशा गरेका थियाँै, तर युरोपभर समस्या पुनः सुरु भएको छ, भ्याक्सिनको पनि टुंगो देखिएन । त्यसैले होटेल बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुग्यौँ ।’

होटेल बन्द भएसँगै बैंकबाट ऋण लिएर कर्मचारी व्यवस्थापन गर्न लागिएको समेत राणाले बताइन् । अहिलेसम्म भएको तलब, कर्मचारी सञ्चय कोषलगायत सुविधा तथा अन्य कानुनअनुसार पाउने सबै सुविधा दिएर होटेल बन्द गर्न लागिएको उनले जानकारी दिइन् । दरबारमार्गको ४३.८६ रोपनी क्षेत्रफलमा फैलिएको होटेलमा नेपाल ट्रस्टको समेत ५ प्रतिशत लगानी छ ।

पाँचतारे होटेल अन्नपूर्णको भवन पुरानो रहेको भन्दै लामो समययता नयाँ संरचना निर्माणको तयारी गरिएको थियो । तर, पर्यटक व्यवस्थापन गर्न समस्या हुने देखिएपछि सञ्चालकहरू नयाँ संरचना बनाउन हच्किएका थिए । अन्नपूर्ण व्यवस्थापनले नयाँ संरचना बनाउने निर्णय नभएको बताए पनि नयाँ भवन निर्माणको तयारी भने थालिएको छ । ‘भवन पुरानो छ, विगतमा निर्माणमा समस्या भएको, तर अहिले नै बनाउने भन्ने निर्णय भएको छैन,’ राणाले भनिन् । व्यवस्थापनले अध्ययन गरिरहेको र पाँचवर्षे योजना बनाएर लगानी गर्ने भएकाले अहिले अध्ययन भइरहेको उनले जानकारी दिइन् ।

नेपालको पहिलो पाँचतारे अन्नपूर्ण होटेल बन्द भएसँगै अन्य ठूला केही होटेलहरूले कर्मचारी कटौतीको निर्णय गरेका छन् । काठमाडौंबाहिर विदेशी लगानीमा खुलेको पाँचतारे टाइगर प्यालेस चैतयता खुल्न सकेको छैन । तर, काठमाडौंबाहिरका साना होटेलहरूमा भने आन्तरिक पर्यटकको चहलपहलले व्यवसायमा रौनक बढेको छ ।

सोल्टीले ४० प्रतिशत कर्मचारी कटौती गर्ने
पाँचतारे होटेल सोल्टी क्राउन प्लाजाले ४० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । होटेलले ‘गोल्डेन ह्यान्डसेक’ दिएर ४० प्रतिशत कर्मचारीलाई बिदा गर्ने भएको हो । होटेल सञ्चालक समितिले कर्मचारीहरूलाई स्वैच्छिक अवकाशअनुसार बिदाइ गर्ने निर्णय गरेको हो । होटेलमा ३ सय ८२ जना कर्मचारी छन् ।

अहिले २ सय ८२ वटा कोठाहरू रहेको होटेलले १ सय कोठा मात्रै सञ्चालन गर्ने भएको छ । सोल्टीले औपचारिक घोषणा गरेरै कर्मचारी कटौती गर्ने जनाएको छ । अन्य ठूला पाँच तारे होटेलहरूले बिदामा राखेका कर्मचारीहरू अझै बोलाएका छैनन् । हायात, याक एन्ड यती, र्‍याडिसन, सांग्रिलालगायत होटेलहरू सानो क्षमतामा चले तापनि धेरैजसो कर्मचारीहरू बिदामै छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top