नेपाली   |  English

बीबीसी मास्टर सेफको टप ३ मा पुगे सन्तोष साह

फाइल तस्बिर

A A A

नेपाली खानालाई विश्व बजारमा चिनाउने एकमात्र लक्ष्य

लन्डन — आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनुपर्ने राउन्डमा उनले आमालाई सम्झिए । सन्तोष साह १२ वर्ष छँदा सिरहाको कर्जन्हा आसपास नदी किनारमा श्रम गर्न जान्थे । गरिबीले कलिलै उमेरमा काम नगरी हातमुख जोर्न सम्भव थिएन ।

काम गरेर भोकाएको छोरालाई बट्टामा खाजा बोकेर उनकी आमा पुग्थिन् । आमाले आफू सानो छँदा खुवाउने खाजा पस्किएर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफहरुको मन जित्न सफल भएका छन् सन्तोष साह ।

उनी बुधबार बेलुका बीबीसी वानमा प्रसारित ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा छनोट भएका हुन् । शीरमा भादगाउँले टोपी पहिरिएर प्रस्तुत भएका सन्तोषले आफ्नी आमाका लागि पुरी, गंगटाको करी, बासी भातझैं भुटेको चिउरा, भुटेको खुर्सानी, खिर आदि तयार गरेका थिए ।

पकाएको खाना अतिथि सेफ र निर्णायकहरुलाई उनले बाल्यकालमा आमाले जस्तै टिफिन बक्समै सर्भ गरेका थिए । ‘म सानो छँदा धेरै दुःख र गरिबी बाँचे,’ सन्तोषले भने, ‘अब म आमालाई सुख दिन चाहन्छु ।’

त्यस्तै, प्रतियोगिताको महत्वपूर्ण सेसन ‘सेफ्स टेबल’ राउन्डमा उनले जिम्बुले मोलेर पोलेको खसीको मासु, रायोको साग, पुदिना परौठा, साँधेको भटमास, क्रिस्पी प्याज, बोन म्यारो करी सस, जस्ता परिकार पस्किए । सन्तोषको सिर्जनशीलता र उनले प्रयोग गरेका मसलाबाट निर्णायकहरु निकै प्रभावित भएका थिए ।

‘म आफूलाई ज्यादै भाग्यमानी ठानेको छु,’ टप थ्रीमा पुगेपछि सन्तोषले भने , ‘विश्वसामु नेपाली खाना र संस्कृति चिनाउन पाउनु त्यो मेरो जीवनकै महत्वपूर्ण उपलब्धि हो ।’ शोमा भादगाउँले टोपी लगाउन अनुमति मागेपछि बीबीसीले यसबारे बुझेर सहमति जनाएको सन्तोषले बताए ।

बिहीबार तीनमध्ये एकजना सेफ मास्टर सेफ च्याम्पियन हुनेछन् । प्रतियोगिता ३२ जना सेफहरुबीच सुरु भएको थियो ।

उनले प्रतियोगितामा जोखिम लिएरै हरेक चरणमा नेपाली परिकारमात्र पस्किए । फाइनलको अघिल्लो चरणमा मंगलबार ‘इन्भेन्सन राउन्ड’ मा सन्तोषले डिजर्टका रुपमा कोदोको खिर चखाएका थिए । उनले कोदोको खिरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि पस्किएका थिए ।

सेमिफाइनल राउन्डमा सन्तोषले नेपालको हाई अल्टिच्युड (हिमाली भेग) मा प्रचलित भेगन खाना भुटेको काँक्रोको बियाँ, वन तरुल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चट्नी जस्ता परिकार चखाएर निर्णायकको मन जिते ।

यसअघिका चरणमा साहले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार जस्ता मौलिक नेपाली खाना पस्किएका थिए ।

विश्वमै प्रतिष्ठित बीबीसी मास्टर सेफ जस्तो प्रतियोगितामा नेपाली खाना लिएर जाने सन्तोष पहिलो नेपाली हुन् । नेपाली खानालाई विश्व बजारमा चिनाउने एकमात्र लक्ष्य आफ्नो रहेको उनी बताउँछन् ।

बेलायतको प्रतिष्ठित ‘मिसिलिन स्टार’ प्राप्त रेस्टुरेन्टहरुमा एक्जुकेटिभ सेफ भइसकेका सन्तोषले भारत र बेलायत गरी यस क्षेत्रमा दुई दशक बिताइसकेका छन् । प्रतियोगिता सकिएपछि सन्तोष सेन्ट्रल लन्डनमा टिपिकल नेपाली कुजिनको रेस्टुरेन्ट खोल्ने तयारीमा समेत जुटेका छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top