नेपाली   |  English

वरिष्ठ गायक जगतमर्दन थापाको निधन

फाइल तस्बिर

A A A

थापाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने

काठमाडौं –वरिष्ठ गायक जगतमर्दन थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १० बजे उनको निधन भएको छोरा मोहितमर्दन थापाले बताए ।

कोरोना संक्रमणपश्चात् लगभग एक महिनादेखि थापा अस्पतालमा उपचाररत थिए । झन्डै डेढ हप्ताअघि कोरोनामुक्त भए पनि छातीमा समस्या देखिएपछि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

बाबुको जागिरे जीवनकै क्रममा सप्तरीको बरमझियामा जन्मेका थापाले २०१३ सालबाट नै रेडियो नेपालबाट आफ्नो सांगीतिक तथा साहित्यिक यात्रा सुरु गरेका थिए । अध्ययनसँगै साहित्य र संगीतमा निरन्तर लागेका थापाले २०१८ सालमा नै कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए । २०२१ सालमा उनले कथासंग्रह ‘पलाँसको फूल’ ल्याएका थिए ।

थापाले सञ्चय कोष, कृषि चुन उद्योग जस्ता निकायमा रहेर तीन दशकभन्दा लामो सरकारी सेवा गरे । ५० को दशकमा जागिर जीवनपछि पुनः उनी सांगीतिक क्षेत्रमा सक्रिय भएका थिए । यसै क्रममा उनले ‘४० वर्ष अघि र ४० वर्ष पछि’, ‘मनको शान्ति’, ‘माया लुकाई लुक्दैन’, ‘म पतझड तिमी मधुमास’, ‘म मक्किएको धुरी खाँबो’ जस्ता एल्बम ल्याए । संगीतलाई जीवनको अपरिहार्य तत्वका रुपमा लिएका थापाले ६४ वर्षका उमेरमा शास्त्रीय संगीतको ज्ञानलाई निरन्तरता दिई ७३ वर्षमा भारतको इलाहावाद संगीत विश्वविद्यालयबाट प्रथम श्रेणीमा ‘बी म्युज’ उत्तीर्ण गरेका थिए ।

नेपाली गीतसंगीतलाई मौलिकता झल्कने गरी अमर र अजर बनाउनुपर्छ भन्ने धारणा राख्ने थापा महामारीकालमा पनि ८५ औं जन्मोत्सवको अवसरमा छैटौं एल्बम सार्वजनिक गर्नलाई दौडधुपमा नै थिए ।

थापाको निधनप्रति दुःख व्यक्त गर्दे कलाकार मदनकृष्ण श्रेष्ठले संगीतका अलावा कर्म क्षेत्रमा अडिग र अटल भएर लाग्ने एउटा कर्मठ, मिलनसार र निष्ठावान व्यक्तित्वलाई मुलुकले गुमाएको बताए । सञ्चय कोषमा जागिरकै क्रममा आधा दशकभन्दा लामो समय थापासँगै बिताएका श्रेष्ठले भने, ‘उहाँको निधनले पुरानो समयको असाध्यै याद आयो । सञ्चय कोषमा हामीसँगै काम गर्दा उहाँ संगीतको कुरासँगै गाउनु हुन्थ्यो भने मचाहिँ क्यारिकेचर गर्थेँ । मनोरञ्जनका लागि उहाँलगायत हाम्रो छुट्टै टिम नै थियो ।’

थापाका एक छोरा र तीन छोरी छन् । छोरा मोहितका अनुसार थापाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top