नेपाली   |  English

प्रधानमन्त्रीज्यू, मजदुरहरु एकछाक खानलाई खुल्ला मञ्चमा लामबद्ध भएर बसेको देख्दा च्वास्स मन पोल्छ होला हगि!


A A A

"तपाईँलाई भोट हाल्ने आम मान्छेहरुको अहिलेको अवस्था तपाईँलाई जगजाहेर नै होला। दैनिक ज्यालादारी गरेर खाने हजारौँ मजदुरहरु एकछाक खानलाई पानी र घाम नभनी खुल्ला मञ्चमा लामबद्ध भएर बसेको देख्दा तपाईँलाई पनि मलाई जस्तै च्वास्स मन पोल्छ होला "

सम्माननीय प्रधानमन्त्रीज्यू - रातो सलाम्


मैले सम्मान गर्ने नेपाली कम्युनिस्ट अगुवाहरुमध्ये तपाईको नाम पनि आउँछ। देश र जनताको परिवर्तनका निम्ति तपाईले गरेको सङ्घर्ष मैले जति नै बयान गरे पनि अपूरो हुन्छ र मेरो बशको कुरा पनि हो जस्तो मलाई लाग्दैन। त्याग र बलिदानको कुरा सायद तपाई जति अरु कसैलाई पनि थाहा छैन होला त्यसैले सिधै बिषय प्रवेश गर्ने अनुमति चाहन्छु।


सम्माननीय प्रधानमन्त्रीज्यू,


झन्डै पाँचमहिना अगाडिदेखि देश कोरोना कहरमा बिरामी भएको छ। कोरोना ग्राफ उकालो लागेको लाग्यैन छ। उद्योग, कलकारखाना, शैक्षिक संस्था, होटल तथा यातायात सबै बन्द छन्। लाखौँ बालबालिका शिक्षा पाउनबाट बन्चित छन्। बन्दाबन्दीले लगभग सबै क्षेत्रको स्थिति कहालीलाग्दो अवस्थाम पुगेको कुरा सर्वविदितै छ। देशको आर्थिक अवस्था जर्जर बन्दै गएको छ। जनताको दैनिकी घरमै बन्दी भएर बस्नुपर्दा सारै कस्टकर बनेको छ। हुनेखानेहरु त जसोतसो जोहो गरेर गुजारा चलाउँदै होलान तर यो देशमा भुइँमान्छेहरुको दैनिकी बिकराल बन्दैछ,भलै भोकले कोही मरेको खबर सुनिएको छैन तर अभाबले मान्छेलाई भित्रभित्रै रित्त्याउँदै लगेको छ।


म आफैँ सहभागी भएका विभिन्न आन्दोलनमा फ्युडियालिजम, क्यपिटालिजम, नेपोटिजम र फेवोरोटिजमका कुनै पनि अबशेष बाँकी रहँदैनन् र राखिदैन भनियो। देश विकासको मूल शत्रु भ्रष्टाचार जरैदेखि उखेलेर फाल्ने कुरा त कति हो कति कर्णप्रिय लाग्थ्यो। धेरै नेपाली आमाका छोराछोरीहरुले आफ्नो शाहदतको पर्वाह सायद यिनैका निम्ति गरेनन्।


देशमा ठुलाठुला आन्दोलन सुशासन र आमुल परिबर्तनका निम्ति भए। राजतन्त्रको अन्त्य भयो, गणतन्त्र आयो। हामी आम नेपाली जनता निक्कै खुसी भइयो झन् भुइँमान्छेहरुको त खुसीले भुइँमा खुट्टा रहेनन्। देशमा रहेको असमानता हट्ने भयो सबैलाई समानता र समाबेशी बनाइने भयो भन्दै खुसीले गद्गद् भै बसे। हामीजस्ता आम जनता आशावादी हुँदै देशमा भएको परिबर्तनको आत्मासात गरियो। भुइँमान्छेका पनि दिन धपक्कै बल्ने भए दैनिकी सहज हुने भयो दुई छाक टार्न अब समस्या नपर्ने भयो भन्दै बसियो। सायद जनताले नेकपालाई यसैकारण सत्तारोहरण गराए। भोका नाङ्गा गरिब जनता सबैले साथ दिए।


म जस्ता धेरै जनताले भोट हालेको सुशासन, समानता, र सम्मृद्धिको सपना देखाउने बामपन्थीहरुको सरकार त्यो पनि झन्डै दुई तिहाईको अहिले सत्तामा छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा वलीले बागडोर सम्हाल्नु भएको हेर्दाहेर्दै साढे दुई वर्ष बितिसकेछ। तपाईँले भारतले लगाएको नाकाबन्दी ताका देखाउनु भएको हिम्मतको सबैले खुलेर प्रशंसा गरेको सुन्दा तपाईँ पनि म जस्तै पुलंकित हुनुहुन्छ होला हगिरु झन् नेपालको अतिक्रमित भूभाग समेटेर सार्वजनिक गरिएको नक्साले त हामी सबै नेपालीको कद झन् उचो बनाएको छ। तपाईँका राम्रा कामको इतिहासले उच्च मूल्याङ्कन गर्नु पर्छ र गर्ने पनि छ। तर अहिले देश निक्कै गम्भीर मोडमा छ।


सम्माननीय प्रधानमन्त्रीज्यू,

तपाईँलाई भोट हाल्ने आम मान्छेहरुको अहिलेको अवस्था तपाईँलाई जगजाहेर नै होला। दैनिक ज्यालादारी गरेर खाने हजारौँ मजदुरहरु एकछाक खानलाई पानी र घाम नभनी खुल्ला मञ्चमा लामबद्ध भएर बसेको देख्दा तपाईँलाई पनि मलाई जस्तै च्वास्स मन पोल्छ होला हगि१ यो त एउटा प्रतिनिधि घटना हो। एकपटक सोच्नुस् त कति अफ्ठ्यारो परेको छ होला नेपाल र नेपाली जनतालाई। मेरो त मनमात्रै पोल्ने हो मैले हेरेर बिचरा भन्नु बाहेक अरु केही गर्न सक्दिन तर तपाईँ त देशको प्रधानमन्त्री धेरै कुरा गर्न सक्ने हैसियतमा हुनुहुन्छ।


सम्माननीय प्रधानमन्त्रीज्यू,

सुन्छु देशमा भ्रष्टाचार, र दण्डहीनता मौलायो रे। प्रधानमन्त्रीज्यूले भ्रष्टाचारीलाई काखी च्याप्नु भएको छ रे। तपाईँ सत्ता मोहले गर्दा होला आत्मरतिमा रमाउनु हुन्छ रे। सीमित आसेपासेबाहेक अरुलाई त चिन्नु पनि हुन्न रे। तपाईँ हठी हुनुभयो रे अरुको कुरा सुन्नु नै हुँन्न रे। आफ्नै पाटीमा बिधि र पद्धतिको खिलाफ जानु हुन्छ रे।


तपाईको धप्पकै बलेको अनुहारले तपाईमा एपोलोको जस्तो कुटिलता र बिवेकले भरिएको पूर्ण मानवको झल्को दिन्छ। तपाई नार्सिसस जस्तो आत्मरतिमा रमाउने मान्छे कदाचित हैन आम नेपालीलाई थाहा छ। तपाईँ जस्तो त्यागी देशप्रेमी जनमतको कदर गर्ने मान्छे यसो गर्नुहुन्छ मलाई यो कुराको कुनै विश्वास नै लाग्दैन। सायद तपाईँलाई मन नपराउने जत्थाले तपाईको बढ्दै गरेको उचाईको मानमर्दन गर्न खोजेका होलान। मेरो मनले भन्छ तपाईँलाई लागेका आरोपहरु सबै मिथ्या हुन्। म किमार्थ यी आरोपहरुलाई तपाईले जस्तै स्वीकार गर्न सक्दिन किनकि म पनि तपाईजस्तै असत्य कुरा मन पराउँदिन।


राजनीति मेरो पेसा हैन तर म एक सचेत नेपाली नागरिक हुँ। देशको प्रगति हुँदा मेरो पनि प्रगति हुन्छ भन्ने सोच बोकेको एक प्रगतिशील आम नागरिक। समाबेशिता, समन्यायिकता, दलित, महिला, पिछडा वर्ग सबैको समुल उन्नति हुने वैचारिक धरातल मेरो नसा नसामा दौडिन्छ।


सम्माननीय प्रधानमन्त्रीज्यू,

आम नेपाली जनता वैचारिक बिचलन नभएको एउटा सिङ्गो नेतृत्वले देश चलाएको हेर्न चाहान्छन। हेर्नुस त कति बेथिति छ। तपाईहरुले बहस गर्ने जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादको बलीमा जनता पिल्सिनु हुँदैन।समय सान्दर्भिक निकास अवश्य निकाल्नुहुने छ। अहिलेको जल्दो बल्दो आवश्यकता त म जस्ता तमाम नेपाली जनताको बिहान बेलुकाको गर्जो टार्ने कुरा प्रधान हो।
समय कालजयी छ र बलबान पनि। समय बितिसकेको छैन। बरु अब बाँकी रहेको तपाईँको समय जनताको दुखेको मनलाई मलमपट्टि लगाउन खर्चिनु पर्छ र म जस्ता आम नागरिकका घरका भित्तामा हाम्रा परिवारको फोटो राख्ने ठाउँमा तपाईको पनि एकथान फोटो एक आदर्श व्यक्तिको रुपमा संगै रहेको हेर्ने मेरो इच्छा तपाईले पूरा गर्नुहुनेछ भन्ने मेरो भरोसा छ। सबै भ्रमलाई चिर्न जरुरी छ। तपाईको हातमा अहिले सबैथोक छ। सायद मैले भन्न खोजेको आशय बुझिसक्नु भयो होला।
आउने दिनमा नेपाली जनताले कसैलाई पनि सराप्नु हुँदैन।जनताले सिसिफसको जस्तो दुखः भोग्नु नपरोस। देशको मुहार फेर्नलाई खम्बा बन्न नसके पनि इँटा बन्न पाइयोस्।


अन्त्यमा, तपाईका पालामा देश सम्बृद्ध नेपाल सुखी नेपालि को नारातर्फ उन्मुख भई भोका नाङ्गाहरुको दिन फर्किएको हेर्ने ठुलो रहर पुरा हुनेछ भन्ने दिर्घ आसा राखेको छु। तपाईको सोच देश र जनताको निम्ति सदैब सकारात्मक बनिरहोस् र तपाईले टेक्ने धर्ति नडगमगाओस्।


भोज कुमार धमला
लेखक एक सर्बसाधारण नेपाली नागरिक हुन्।

bhoj kumar dhamala


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top