नेपाली   |  English

विदेशबाट फर्किँदा पीसीआर नेगेटिभ आउनेहरु होटलमा बस्नु पर्दैन, सिधै घर जान पाइन्छ : मन्त्री भट्टराई

फाइल तस्विर

A A A

११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने

काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले नेपाल आएर होटल क्वारेन्टिनमा बस्नुनपर्ने बताएका छन् ।

सरकारले विभिन्न देशबाट स्वदेश फर्किने नागरिकले यहाँ आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किने नागरिकले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाण भए सिधै घर जान पाउने बताएका हुन् ।

कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने मन्त्री भट्टराईको भनाइ छ ।

‘पीसीआर गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित घर जान दिइन्छ’ उनले भने ।

पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने उनको भनाइ छ । अर्को देशबाट आएर क्वारेन्टिनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै मन्त्री भट्टराई ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने बताए ।

विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उनले बताए ।

‘विदेशमा अलपत्र परेका, फर्कने कुनै आधार नभएका व्यक्तिहरुलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट पनि काट्छ । यहाँ आएर होटल क्वारेन्टिनको विषय पनि सरकारले व्यहोर्छ र पीसीआर खर्च पनि सरकारले व्यहोर्छ’ उनले भने, ‘कुनै कम्पनीले आफ्नो कम्पनीबाट मान्छे पठाउँछ भने उहाँहरुले टिकट पनि काट्नुपर्छ । कम्पनीले नै क्वारेन्टिन बस्दा लाग्ने खर्च व्यहोर्नुपर्छ ।’


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top