नेपाली   |  English

कोरोना संक्रमितहरुको 'ट्रेसिङ' र 'टेस्टिङ'को जिम्मा स्थानीय तहलाई

File image: Teenager being tested for coronavirus

A A A

कोरोना संक्रमितहरुको 'ट्रेसिङ' र 'टेस्टिङ'को जिम्मा स्थानीय तहलाई

काठमाडौँ — शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस रोग (कोभिड–१९) सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्यले संक्रमणको नियन्त्रण र रोकथामलाई थप व्यवस्थित गर्दै ट्रेसिङ र टेस्टिङ कार्यमा सहयोग र सहजीकरणका लागि स्वास्थ्यकर्मीहरुको तीन सदस्यीय टोली गठन गर्ने निर्णय गरेको छ ।

टोलीमा एक–एकजना जनस्वास्थ्य अधिकृत, ल्याब टेक्निसियन तथा नर्स/प्यारामेडिक गरी ३ जना रहनेछन् । यस्तो टोली हरेक गाउँपालिकमा एउटा, नगरपालिकामा दुइटा, उपमहानगरपालिकामा तीनवटा र महानगरपालिकामा ५ वटा परिचालन गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।

संक्रमितहरुको ट्रेसिङ र टेस्टिङलाई थप व्यवस्थित बनाउनका लागि स्थानीय तहलाई नै ट्रेसिङ र टेस्टिङको जिम्मा दिन लागिएको हो। स्थानीय र प्रदेश स्तरमा गठन गरिने ट्रेसिङ र टेस्टिङको टोलीसँग केन्द्रबाट भने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले नै समन्वय गर्ने छ। महाशाखाले अपेक्षा अनुरुपको कार्य गर्न नसकेर त्यसको सर्वत्र आलोचना हुन थालेपछि मन्त्रालयले स्थानीय स्तरमै यस्तो टोली बनाएर खटाउने निर्णय गरेको हो।


स्वास्थ्य मन्त्रालयस्थित उच्च स्रोतका अनुसार भविष्यमा संक्रमण धेरै नै देखिएको अवस्थामा महाशाखाले मात्रै ट्रेसिङ र टेस्टिङको कार्यलाई अगाडि बढाउन कठिन हुने भएकैले यस्तो व्यवस्था गरिएको हो। उनको अनुसार स्थानीय तहलाई मन्त्रालयले तोके अनुसार टोली गठन गर्न कर्मचारी अपुग भएको खण्डमा प्रदेश तहबाट त्यसको पूर्ति गर्नसक्ने पनि व्यवस्था मिलाइने भएको छ।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा १२ जना भारतीय र मस्जिदमा आउजाउ गर्ने तथा वरपरका बसिन्दासहित १६ जना नेपालीमा समेत कोरोनाको संक्रमण रहेको देखिए पनि महाशालाले ती व्यक्तिको ट्रेसिङ गर्न नसकिरहेको अवस्थामा मन्त्रालयले यसको जिम्मा स्थानीय तहलाई नै दिन लागेको हो। साथै वीरगन्जमा पनि महाशाखाले ट्रेसिङमा कुनै ठोस उपलब्धी हासिल गर्न सकेको छैन।

उदयपुरको मस्जिदमा भेटिएका १२ जना भारतीय संक्रमितहरुले आफूहरु मंसिर २५ गते जोगवनीबाट नेपाल प्रवेश गरेको बताएपछि स्वास्थ्य मन्त्रालयको होश उडेको थियो। १२ जना भारतीय जमातीहरुको कन्ट्याक्ट ट्रेसिङका लागि महाशाखाको कुनै पनि जोडघटाउले काम नगरेपछि आफ्नो असफलता लुकाउन अनेक बहाना गरिरहेको थियो। त्यसमा पनि सो क्षेत्रका थप १६ जना नेपालीमा पनि संक्रमण रहेको पुष्टि भएपछि थप अन्योलता बढेको थियो।

जमातीहरु मंसिर २५ गते नेपाल प्रवेश गरेको देखिसक्दा पनि महाशाखाका अधिकारीहरु भने त्यसलाई मान्न तयार छैनन्। उता वीरगन्जमा भेटिएका तीनजना भारतीय संक्रमितहरुले पुसको पहिलो साता नै नेपाल प्रवेश गरेको बताउँदै आएका छन्। उनीहरुलाई पनि कहाँ र कसरी संक्रमण सर्‍यो भनेर महाशाखाले पहिल्याउन सकेको देखिन्न।

प्रदेश १ सरकारले भारत तथा खाडीबाट फर्किएका दुई युवकबाट उदयपुरमा संक्रमण फैलिएको दाबी गरिरहँदा केन्द्र सरकारले भने त्यसबारे आफ्नो कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।

यस्तै बिहीबार भोजपुरका युवामा पनि साउदी अरबबाट फर्किएको ४१ दिनपछि कोभिड–१९ पोजिटिभ देखिएको छ। उनको पहिलो आरडीटी पोजिटिभ आएपछि थ्रोट स्वाबको नमुना लिएर परीक्षण गर्दा त्यो पनि पोजिटिभ आएको हो। उनमा देखिएको संक्रमण पनि आयतित हो वा समुदायबाट सरेको हो भन्नेमा अन्योल छ।


यस्तोमा स्वास्थ्य मन्त्रालयले स्थानीय स्तरमा ट्रेसिङ र टेस्टिङका लागि टोली बनाउन गरेको निर्णयलाई सकारात्मक मानिएको छ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले यो निर्णयको स्वागत गर्दै पीसीआर पोजिटभ देखिएकाहरुको मात्र नभइ आरडीटी पोजिटिभ र पीसीआर निगेटिभ देखिएकाहरुको पनि ट्रेसिङ र टेस्टिङ गर्नुपर्नेमा जोड दिएका छन्। उनले ट्वीट गर्दै सो कुरा बताएका हुन्।


जनस्वास्थ्यविद् डा. दिनेश न्यौपानेका अनुसार सरकारले उदयपुर र वीरगन्जको केसमा इन्डेक्स केस पत्ता लगाउन निकै जरुरी छ। उनका अनुसार सरकारको ट्रेसिङ र ट्र्याकिङ प्रणाली निकै कमजोर रहेकोले पनि धेरै दुविधाहरु देखिएको हो। ‘सरकारले अहिले ट्रेसिङ र ट्र्याकिङ प्रणालीलाई दह्रो बनाएर पीसीआर परीक्षणको दायरालाई बढाउँदै लानुपर्छ,’ उनले भने, ‘यसको लागि स्थानीय स्तरमा काम गर्न शिक्षकहरुको पनि प्रयोग गर्न सकिन्छ भने कमाण्डलाई मजबुत बनाउन सेनालाई पनि संलग्न गराउन सकिन्छ।’

उनका अनुसार कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षणको दायरा नबढाएसम्म हतार गरेर लकडाउन खोल्नु झनै जोखिमपूर्ण हुनसक्छ। ‘ट्रेसिङको लागि प्रयोग भइरहेको मानवस्रोत पनि थोरै भए र कमाण्ड पनि भएन,’ उनले भने, ‘यसलाई सुधार गर्नैपर्छ। अनि मात्रै संक्रमणलाई नियन्त्रण गर्न केही सहज हुन्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सरकारले कोभिड रोकथामका लागि ६ ‘टी’को रणनीति नै अप्नाइरहेको बताए। ट्राभल रेस्ट्रिक्सन, टेस्टिङ, ट्रेसिङ, ट्रयाकिङ, ट्रिट्मेन्ट, टुगेदर यी ६ वटा ‘टी’को रणनीति अपनाएको बताउँदै उनले भने, ‘सम्भावित संक्रणमण रोक्न हामीले परीक्षणको दायरालाई फराकिलो बनाउँदै ल्याएका छौं। यस्तै संक्रमणको जोखिम रहेकाहरुको खोजीकार्यलाई पनि बढाइरहेका छौं,’ उनले भने, ‘हाल बिरामीका लागि स्वास्थ्य संस्थाको क्षमता बढाउने तयारीमा हामी जुटेका छौं।’


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


अन्तर्राष्ट्रिय

करोडौको मालिक बन्ने सुत्र...

Top